News Griha :: न्यूजगृह
सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरे

सिरहा— सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ। गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको हो।

महराको शव सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो। प्रहरीको अनुसन्धानमा सँगै दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले यातनासहित हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

असोज २७ गते राति कृष्ण र रोहित सुखीपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए। त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए। डीएसपी पासवानका अनुसार सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गए।

उनीहरूले गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरे। त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए। अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले स्वीकारेनन्।

प्रहरीका अनुसार सोही विषयका उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा हत्या योजना बनाए। पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पासवानले बताए।

अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए। असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

आरोपीहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डीएसपी पासवानले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:४१
Weather Update