News Griha :: न्यूजगृह
यही कार्तिक १५ मा अवकाशमा जान लागेकी डीआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं— नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) किरण राणालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ।

आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन्। उनी ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ मा अवकाशमा जान लागेकी छन्। प्रहरी नियमावली– २०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन्।

अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ। तर, बढुवा सिफारिस सदर भए पनि उनको अवकाश रोकिँदैन। कांग्रेस नेता ज्ञानेन्द्र कार्कीकी नातेदार राणालाई विशिष्ट श्रेणीबाट अवकाश हुने गरी बढुवा सिफारिस गरिएको जानकारहरू बताउँछन्। विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन्।

यसअघि पनि शक्ति र सत्ताको नजिक हुनेहरूलाई अवकाशको मुखमा बढुवा दिएर पठाइने गरेको प्रचलन छ। रवि लामिछाने उप प्रधान एवं गृहमन्त्री हुँदा डीआईजी पोषराज पोखरेललाई उनकै जोडबलमा बढुवा सिफारिस गरिएको थियो।

तर, नेकपा एमालेले समर्थन फिर्ता लिएका कारण सरकार ढलेपछि पोखरेलको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर भएन। उनी डीआईजीमै अवकाश भए। 

त्यस्तै प्राविधिक समूहका डा सुन्दरप्रसाद ह्योजु पनि एआईजी बढुवामा सिफारिस भएका छन्। ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगञ्जमा कार्यरत छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:००
Weather Update