News Griha :: न्यूजगृह
स्याङ्जामा बम बिस्फोट, नेपाली सेनाका सेवानिवृत कर्मचारी घाइते

स्याङ्जा— चापाकोटमा बम बिस्फोट भएको छ। चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोविन्द पुरीको घरमा बम बिस्फोट भएको हो।

पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ बम बिस्फोट भएको वडा न ४ का वडाअध्यक्ष अर्जुन खाणले जानकारी दिए।

घटनामा परी ४५ वर्षीय घरधनी पुरी घाइते भएका छन्। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ।

पुरीको बायाँ आँखा भन्दा मुनी बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको वडा अध्यक्ष खाणले बताए। पुरी नेपाल सेनाको पूर्व कर्मचारी हुन्। उनले दुई वर्ष अगाडि अवकाश लिएका थिए।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि पौडेलले जानकारी दिए। उनका अनुसार आइतबार नेपाली सेना सहितको टोली घटनास्थलमा पुग्ने छ।

घटनाबारे विस्तृत अनुसन्धान हुने उनको भनाइ छ। बम कुन प्रकृतिको हो अनुसन्धान पछि जानकारी हुने प्रहरीले जनाएको छ।

घाइते पुरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पुरीको कच्ची घरमा समेत क्षति पुगेको प्रहरीको भनाई छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  २०:४४
Weather Update