News Griha :: न्यूजगृह
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबाट इन्द्रजित राईले ५ करोड लिएको खुलासा
तस्बिर : इन्द्रजित राईको फेसबुकबाट

काठमाडौं—  काठमाडौं प्रहरी परिसरको टोलीले नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहिसकेका डा. इन्द्रजित राईलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार राईलाई सोधपुछका लागि मंगलबार बिहान ललितपुरबाट नियन्त्रणमा लिइएको हो । उनका अनुसार अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले अहिले उनीसँग सोधपुछ गरिरहेका छन् । 

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरूसँग लाखौं असुली गरेको आरोपमा यसअघि गिरोहका केही सदस्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । सोही गिरोहका सदस्यबाट राईले पटकपटक आर्थिक लाभ लिएको पाइएको काठमाडौं प्रहरीले जनाएको छ । सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

बादल १४ फागुन २०७४ देखि ३ जेठ २०७८ सम्म गृहमन्त्री थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ लगायतलाई पक्राउ गरेको छ । दुलाल कांग्रेस नेता सुजाता कोइराला परराष्ट्र मन्त्री हुँदा उनको सचिवालयमा थिए ।  

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार राईले पटकपटक गरि गिरोहबाट ५ करोड रुपैयाँभन्दा बढी लिएको देखिन्छ । ‘तत्कालीन गृहसचिव र गृहमन्त्रीसम्म मिलाउनुपर्ने भन्दै राईले पैसा लिएको देखिन्छ’, ती अधिकृतले भने, ‘अन्य व्यक्तिको संलग्नताबारे हामी अनुसन्धान मै छौं । राईको बयानपछि स्पष्ट होला ।’

बादल गृहमन्त्री हुँदा गृहसचिवमा प्रेमकुमार राई र महेश्वर न्यौपाने कार्यरत थिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ११:११
Weather Update