News Griha :: न्यूजगृह
वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा समस्या, सेवा प्रभावित

काठमाडौं— वैदेशिक रोजगार बोर्डले चलाइरहेको सफ्टवेयरमा समस्या आएपछि बोर्ड दिने सेवा प्रभावित भएको छ।

बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरूका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण लगायतको काम रोकिएको हो।

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति प्रदानमा प्रयोग हुने सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आइरहेको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ। सर्भर मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जानकारी दिएको छ।

‘यस सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौँ,’ बोर्डले सूचनामा भनेको छ। इमेल मार्फत वा भौतिक रुपमा उपस्थित भई दिएको निवेदन सङ्कलन कार्य निरन्तर रुपमा सुचारु भइरहेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:०१
Weather Update