News Griha :: न्यूजगृह
दसैँभर काठमाडौं उपत्यकामा ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना 

काठमाडौं— काठमाडौं उपत्यकामा दसैँको अवधिभर (असोज १७ गतेदेखि २८सम्म) ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर)मा जम्मा ११ वटा मात्रै चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

जसमध्ये काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी विनोद घिमिरेले बताए । उक्त अवधिमा विशेषगरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको एसएसपी घिमिरेले बताए ।

अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्न भएकामध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको कोठाबाट १७ लाख रुपैयाँ बराबरको चोरी घटनामा संलग्न भएकाहरु लाई समेत पक्राउ गरिएको उनले बताए ।

त्यसैगरी १७ देखि २८ असोजसम्मको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा १३० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४ जनाको ज्यान गएको छ । जसमध्ये ३ जनाको मृत्यु आफ्नै लापरबाहीका कारण सवारी दुर्घटना भएर मृत्यु भएको प्रहरीको भनाइ छ । अर्का  एक जनाको मृत्यु भने ‘हिट एण्ड रन’बाट भएको एसएसपी घिमिरेले बताए ।

हिट एण्ड रन’ घटनामा संलग्न विराटनगर उपमहानगरपालिका–१७ घर भई ललितपुर कुपन्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउसमेत परेका छन् । घटनाको चार दिनपछि कुपन्डोलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

असोज २६ गते साँझ साढे ६ बजेतिर तिनकुन गैरीगाउँ सडकमा सर्लाहीको कबिलास नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय विनोद महरा भन्ने रामविनय महरालाई विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएपछि विष्ट भने फरार भएका थिए । उनको उपचारको क्रममा २७ गते बिहान १ बजे मृत्यु भएको थियो ।

यो अवधिमा साँझको ६ बजेदेखि रातिको ९ बजेको समयमा बढी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा ४ जनाको मृत्यु हुनका साथै १८८ जना घाइते भएका थिए । घाइतेहरु सबैको अवस्था सामान्य रहेको थियो ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ । त्यो पनि ठिमी–जगाती सडकखण्डमा बढी दुर्घटना भएको एसएसपी घिमिरेले बताए ।

दसैँको यो अवधिमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं र भक्तपुरबाट जुवातास खेलेको आरोपमा एक जना पनि पक्राउ परेनन् । ललितपुरबाट भने २ वटा जुवाखालबाट जम्मा ११ जनालाई पक्राउ गरिएको एसएसपी घिमिरेले बताए।

काठडमाडौं उपत्यका प्रहरी कार्यालयले दसैँ सुरक्षा योजना अनुसार तीन जिल्लामा मात्रै १० हजार प्रहरी परिचालन गरेको थियो । मान्छेको अत्यधिक चाप र दसैँ मनाउन गाउँ जाँदा घर र कोठा रत्तो हुने हुँदा चोरी बढ्न सक्ने भन्दै तीन जिल्लामा थप जनशक्ति परिचालन गरिएको थियो ।

काठमाडौंमा मात्रै दसैँमा हुनसक्ने अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो । दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्तीको व्यवस्था मिलाइएको थियो ।

७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको थियो । सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिएको थियो ।

सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइएको थियो भने २२ ठाउँमा एम्बुसिङ चेकिङ गरिएको थियो । नाकाहरुमा हरेक दिन अपराध अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । योजना अनुसार नै दसैँ सुरक्षित भएको एसएसपी घिमिरेलको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:१४
समसामयिक
Weather Update