प्यूठान— प्यूठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् ।
बुधबार दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको कार भारतीय नम्बर प्लेट यूपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार कार सडकबाट २० मिटर तल जङ्गलमा खसेको थियो । कारमा चालकसहित पाँच जना सवार थिए ।
तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए । घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेयको टाउकामा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरमा चोट लागेको छ ।
त्यस्तै ५५ वर्षकी शिला पाण्डेयको शरीरमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेखकुमार पाण्डेय सामान्य भएको समेत थापाले जानकारी दिए ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । उनीहरूलाई लिन भारतबाट आफन्तजन बाटोमा आइरहेकोसमेत प्रहरीले जनाएको छ ।