काठमाडौं— मिटरब्याजपीडित २९ दिनदेखि धर्नामा बसेका छन् । काठमाडौंको रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितका माग सरकारले अझै सम्बोधन गर्न सकेको छैन ।
सरकारसँग पटक–पटक वार्ता भए पनि मिटरब्याज पीडितले धर्ना जारी राखेका छन् । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोगसमेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग पीडितको छ ।
मिटरब्याज पीडितलाई भेट्न सोमबार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई रत्नपार्कस्थित शान्तिवाटिका पुगेका थिए । उनले मिटरब्याज पीडितको माग राजनीतिक सम्बोधन गर्न सुझाव दिएका छन् ।
‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ डा.भट्टराईको सुझाव छ ।
मिटरब्याज पीडितले आफूहरूलाई सरकारले बेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा.भट्टराईसँग गरेका थिए ।