News Griha :: न्यूजगृह
आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं— कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

अहिले देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा  आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि छ।

अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ। साथै कोशी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइहेको छ।

मंगलबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत अद्यावधिक गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०८:२२
Weather Update