News Griha :: न्यूजगृह
साइबर सुरक्षा नीतिको मस्यौदामाथि छलफल

काठमाडौं— सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० प्रति पत्रकारहरूले विशेष चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव दिने तयारी समेत गरेका छन् ।  

लोकतन्त्र तथा विकास केन्द्र (सिडिडी)ले काठमाडौंमा आयोजना गरेको नीति समीक्षा कार्यक्रममा उनीहरूले चाडै नै यस बारेमा संगठनको धारणा सार्वजनिक गर्ने र सरकारलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कार्यक्रममा केन्द्रका महासचिव तथा साइबर सुरक्षा अध्येयता जीवन भण्डारीले मस्यौदामाथि २१ बुँदे सुझाव प्रस्तुत गरेका थिए । 

सहभागीहरूले त्यसलाई समेत आधार बनाएर आफूहरूले छलफल गर्ने र सुझाव तयार पार्ने बताएका थिए । सरकारले यही ४ वैशाखमा मस्यौदा सार्वजनिक गरी सुझाव माग गरेकाले सबैले अध्ययन गरेर सुझाव दिन पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नीतिका बारेमा विश्लेषणात्मक प्रस्तुति गरेर आफूहरूलाई घचघच्याएकोमा लोकतन्त्र तथा विकास केन्द्रलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्तै उपयोगी, गहकिला, रचनात्मक र सान्दर्भिक कार्यक्रमहरू गरिरहन सुझाव दिँदै आफूहरूको साथ सहयोग सधैँ रहने वचनबद्धता व्यक्त गरे । अध्यक्ष पोखरेलले इन्टरनेटमा नागरिकको सहज पहुँच र स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउने कुरामा सबैले चासो राख्नुपर्नेमा जोड दिए । 

नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले साइबर सुरक्षा नीतिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध हुन्छ की भन्ने तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । अभिव्यक्त गर्ने सबैभन्दा मुख्य माध्यम नै अहिले इन्टरनेट माध्यम भएकाले त्यसको निर्बाध प्रयोग गर्न पाउने कुराको सुनिश्चितता हुनुपर्ने धारणा राखे । 

प्रेस चौतारी नेपालकी उपाध्यक्ष देविका घर्ती मगरले हरेक व्यक्ति पहिले एउटा नागरिक भएकाले नागरिक अधिकारको दृष्टिकोणबाट यसलाई हेर्नुपर्ने बताए । उनले साइबर माध्यममा धेरै अपराध भइरहेकाले पेसा पनि जोगिने र विकृति पनि रोकिने उपाय अपनाउनु पर्ने धारणा राखे । 

यस्तै ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) का अध्यक्ष कुमार भट्टराईले इन्जिनियरहरू पनि साइबर सुरक्षाका बारेमा साक्षर नभएको दृष्टान्त दिँदै न्यून वर्गमा साइबर सुरक्षा सम्बन्धी साक्षरताको धेरै आवश्यकता रहेको धारणा राखे । उनले नेपालमा साइबर सुरक्षाको विषयलाई बढी कठोर बनाइयो भने सीमापारि गएर दुरुपयोग हुने खतरा रहेको बताए ।  

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, लोक तथा दोहोरी गीत प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारी, अनलाइन टिभी पत्रकार संघका महासचिव पवन फुयाँल, अनुसन्धानकर्ताहरू कृष्ण सापकोटा, नारायण घिमिरेलगायतले पनि राष्ट्रिय साइवर सुरक्षा नीतिले इन्टरनेट प्रयोगकर्तालाई जिम्मेवार बनाउँदै सहज उपयोगको वातावरण बनाउनु पर्नेमा जोड दिए ।

केन्द्रका उपाध्यक्ष सञ्जीव घिमिरेले मानवअधिकारमैत्री साइवर सुरक्षा आफूहरूको मुख्य चासो भएको बताएका थिए । संस्थाका सचिव सनिल नेपालले लोकतन्त्र, मानवअधिकार, समावेशिता, सुशासन, साइबर सुरक्षालगायतका विषयमा संस्थाले काम गर्दै आएको र सरकारले ल्याउने हरेक नीतिमाथि समीक्षा गर्ने योजना रहेको जानकारी दिएका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:०३
Weather Update