काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना नरहेको जानकारी दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन्।
सचिव शर्माले मन्त्रालयको टोलीले स्थलगत अवलोकनसमेत गरेर आएको जानकारी दिँदै दसैँ अगाडि बीपी राजमार्ग खुल्ने सम्भावना बताएका हुन्। ‘बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि त्यो खुल्ने सम्भावना छैन। हामी त्यो निष्कर्षमा पुग्यौँ। काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू रहेका छन्। गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ,’ उनले भने, ‘सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अडकिएका गाडीहरू ल्याउने प्रयास गर्छौं। त्यो उद्धार मात्रै हुन्छ। सार्वजनिक गाडी छोड्ने गरी नै गर्नसकिने अवस्था हामी देख्दैनौँ। धेरै ठाउँमा बिग्रिएको छ।’
असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ। तीमध्ये ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र/उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए।
हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको सचिव शर्माले बताए। हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए।
त्यस्तै, क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको शर्माको भनाई छ।
सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ किलोमिटर, बीपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ किलोमिटर, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किलोमिटर, कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ किलोमिटर र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ किलोमिटर हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए।
क्षति भएका पुलहरूमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, बीपी राजमार्गको सुनकोशी, खैरेनीटार, बीपी राजमार्गको सुनकोशी, खुर्कोट, बीपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको बागमती पुल, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल रहेको सचिव शर्माले बताए ।