काठमाडौं— मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित ६ आप्रवासी मारिएका छन्।
बुधबार मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो।
मेक्सिकोको रक्षा विभागले त्यसरी गोली चल्दा नेपाल, भारत र पाकिस्तानका सहित ६ जना मारिएको सार्वजनिक गरेको समाचार एसोसिएटेड प्रेसलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुस्तान टाइम्सले लेखेको छ।
मारिनेहरूको पहिचान भने खुलाइएको छैन। बुधबार ३३ जना सवार ट्रक दुई जना मेक्सिकन सैनिकले गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका थिए।
घाइतेमध्ये २ जनाको पछि मृत्यु भएको थियो। अन्य १७ जना भने सुरक्षित रहेको भनिएको छ। बाँकी १० घाइतेको कोको हुन् र उनीहरूको अवस्था के छ भनेर पनि सार्वजनिक गरिएको छैन।
सेनाले ट्रकसँगै आइरहेका बाँकी दुई सवारी साधनबाट गोली चलेको आवाज सुनेकोले तत्काल जवाफ फर्काएको स्पष्टीकरणमा भनेको छ।
यद्यपि ट्रकमा हतियार भेटिएको नभेटिएको भन्नेबारेमा भने रक्षा विभागले कुनैपनि विषय सार्वजनिक गरेको छैन। अवैध बाटोबाट अमेरिका छिर्नेहरूले धेरैजसो उक्त रुट प्रयोग गर्ने गरेको बताइन्छ।
त्यही बाटो हुँदै अवैध वस्तु तस्करी हुने गरेको र त्यसमा आप्रवासीहरूलाई समेत प्रयोग गर्ने गरेको भेटिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आप्रवासी सवार गाडीमाथि गोली चलेको यो पहिलो घटना भने होइन।
यसअघि सन् २०२१ मा पनि सोही ठाउँमा सेनाले आप्रवासी सवार ट्रकमा गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए। बुधबारको घटनामा अनुसन्धान भइरहेको र आप्रवासीबारे पनि छानबिन भइरहेको मेक्सिको रक्षा विभागले जनाएको छ।