News Griha :: न्यूजगृह
काठमाडौंमा बिहानैदेखि वर्षा, आज रातिभन्दा दिउँसो धेरै वर्षा हुने 

काठमाडौं— देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 

कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागले दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

विभागले राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

देशभर मनसुनी वायुको प्रभाव छ। भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:२५
Weather Update