News Griha :: न्यूजगृह
कोशी प्रदेशका राज्यमन्त्रीमाथि लुटपाटको प्रयास  

विराटनगर— कोशी प्रदेशको राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ। उदयपुरको बेलका नगरपालिका– ८ स्थिति सिरवानी भन्ने स्थानमा मंगलबार राति लुटपाटको प्रयास भएको हो।

बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा राति करिब १० बजेको समयमा ६ जनाको समूहले लुटपाटको प्रयास गरेको कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले बताए।

उनका अनुसार मध्यरातमा राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजका थिए। तर, चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको थियो। ढुंगाले लागे पनि गाडीमा क्षति पुगेको छैन।

खापुङले भने , ‘राति लुटपाटकै उद्देश्यले राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको हो। घटनाको जानकारी आएपछि ६ जना पक्राउ परेका छन्, थप अनुसन्धान गर्दैछौँ।’

राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको जानकारी आएपछि प्रहरीले आज बिहानबाट अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राई पक्राउ परेका हुन्। उनीहरुको साथबाट मंगलबार राति प्रयोग भएको एउटा टर्चलाइट र हसियाँ पनि बरामद गरेको छ। 

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले गाँजा बोकेको गाडी भन्दै रोक्ने प्रयास गरेका थिए, पछि राज्यमन्त्रीको गाडी भन्ने थाहा पाएपछि उनी त्यहाँबाट भागेका थिए। रातको समयमा पहिले पनि सो समूहले बाटो ढुकेर गाडी लुटपाटको प्रयास गर्ने देखिएको प्रहरीको दाबी छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २१:१८
Weather Update