News Griha :: न्यूजगृह
पृथ्वी राजमार्गमा पुल भासिएपछि सवारी आवागमन अवरुद्ध
फाइल फोटो

काठमाडौं— धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

सोमबार दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकतर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो । राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ ।

ठुला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताए । सहजताअनुसार हेटौँडा काठमाडौं र काठमाडौं नुवाकोट गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १७:५१
Weather Update