News Griha :: न्यूजगृह
पूर्वका ९ जिल्लामा बाढीको जोखिम
अरुण नदी। फाइल तस्बिर

काठमाडौं— पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ। त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइ राख्न महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार ठूला नदीहरूमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ।

आज र भोलि कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ। जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।

नेपालका ठूला नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने सम्भावना छ। त्यसैले यी नदी किनारमा आज र भोलि सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरूको बहाव भने बढ्ने पूर्वानुमान छ। त्यसैले बहाव बढ्ने पूर्वानुमान गरिएका नदी किनारमा सतर्कता अपनाइ राख्न महाशाखाले सुझाव दिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:०७
Weather Update