काठमाडौं— वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ।
दसैँका लागि पोकापुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन्।
कतिबेला घर पुग्ने हो ठेगान छैन। अन्य प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन्।
असोज ११ गतेदेखि नै काठमाडौंको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन्। सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौंबाट छुटाउन थालिएको थियो। दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए।
राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ। यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ।
त्यसैले अब यात्रुहरूले यो दसैँमा घर पुग्न ठूलै युद्ध जिते झैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताए। नेपाल प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ। केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ।
सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ। नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भासिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ। बीपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
काठमाडौं–नारायणगढ सडकका दर्जनौँ ठाउँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन। हेर्दा कामचलाउका रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ। सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन्।
समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ।
यातायात व्यवस्था विभागले असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ। पानी पर्दै नपरेको खण्डमा दसैँ आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताए। उनले भने, ‘प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ।’
अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुनेगरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले बताए। यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो। यही अवस्थामा गाडी लैजान सक्दैनौँ नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैँको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन्।
यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए।
‘अहिले घर जान हतार नगरौँ’
यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताए। उनले भने, ‘कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैँ छ भनेर जोखिममा यात्रा गराउनु हुन्न।’
अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उहाँले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए। ‘दसैँमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन’, उनले भने, ‘त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ।’
उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ। आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने उनको भनाइ छ। ‘यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दसैँ त फेरि पनि मनाउन पाइहालिन्छ’, गजुरेलले भने, ‘यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ।’