कुलेखानी जलसतहको सतर्कता तह पार, बाँध खोल्ने तयारी
काठमाडौं— मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयले निरन्तरताको वर्षाका कारण सतर्कता तह पार गरेको छ।
कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ।
सतर्कता तह पार भएसँगै अब तत्काल बाँध खोल्न लागेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए।
बाँध खोल्ने तयारी गरिँदै गर्दा बागमती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदीमा मिसिन्छ।
इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०६:०८