News Griha :: न्यूजगृह
कञ्चनपुरको चुरेबस्तीमा छैन खानेपानी

दोधारा चाँदनी— कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए ।

‘यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार/पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन’, उनले भने,‘खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल परेको छ ।’ उनले मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए ।

खोलाबाट आएको दुई/तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए । ‘जेठ–असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ’, उनले भने, ‘पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ ।’

पानी भर्नका लागि साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताइन् । ‘पानीको अभावले खेतबारी सबै बाँझो छ, गाईवस्तु पाल्न सकेका छैनौँ’,उनले भनिन्, ‘खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता ।’

उनले यहाँ मुक्तकमैया पुनर्स्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताइन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २०:१५
Weather Update