News Griha :: न्यूजगृह
हिमाली तथा पहाडी जिल्लामा आज र भोलि रात्रिबस नचल्ने

काठमाडौं— राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार)र भोलि (शनिबार) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ।

त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा आज असोज ११ र भोलि असोज १२ गते रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोष्टले गरेको हो।

विभागले कोशी प्रदेशको झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ मधेसको सिरहा, सप्तरी र पर्सा तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी एवं अति भारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ।

यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ।

प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ।

पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरेको छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोष्टको बैठकले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए।

प्राधिकरणले पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहन तथा विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्नसमेत निर्देशन दिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०८:०१
Weather Update