काठमाडौं— सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्। गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन।
आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन्। उनलाई बायाँ हातमा गोली लागेको छ।
घाइते रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।
गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए । गोली हान्ने व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ।
डीएसपी श्रेष्ठका अनुसार चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए। गएराति एक्कासि एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ।
गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाए भन्नेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू थप पुष्ट्याइँको प्रयासमा छन्। त्यसैले जिल्ला प्रहरी कार्यालयले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको जनाएको छ।
‘मोटरसाइकलमा दुई जना व्यक्ति आएका रहेछन् अनि गोली हानेर मोटरसाइकल चढेर भागे,’ डीएसपी श्रेष्ठले भने, ‘घटनामा संलग्न व्यक्तिको पहिचान भइसके पनि पक्राउ नपरिसकेकाले नाम भने सार्वजनिक गरिएको छैन।’