News Griha :: न्यूजगृह
इजरायल—हेजबुल्लाह भीषण युद्ध: नेपाली कति सुरक्षित?

काठमाडौं— इजरायल–लेबनानको सीमा क्षेत्रमा युद्ध चर्किँदै गएपछि लेबनानमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर चासो बढेको छ। केही दिनयता इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाहबीच युद्ध जारी छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इजरायलको आक्रमणबाट लेबनानको दक्षिण भेगमा कम्तीमा ५ सय ५८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय जना घाइते भएका छन्। उक्त आक्रमणविरुद्ध इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलको उत्तरी भेगमा पनि आक्रमण बढाइरहेको छ।

युद्धका कारण लेबनानको दक्षिणी भेगबाट हजारौं विस्थापित भएका छन्। इजरायल र हेजबुल्लाहबीच बढ्दो तनावका कारण लेबनानमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर चासो बढेको हो। इजिप्टस्थित नेपाली दूतावासका अनुसार लेबनानमा करिब ७ सय नेपाली छन्। तिनीहरूमध्ये अधिकांश घरेलु कामदार छन् भने बाँकी होटल र कारखानामा काम गर्छन्।

नेपाली सेनाका अनुसार युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिसनअन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ शान्ति सैनिक तैनाथ रहेकामा नेपाली सेनाबाट मात्रै करिब ८ सय ५० जना छन्। लेबनानको मुख्य शहर बेरुतमा १५ वर्षदेखि कार्यरत अशोक थापाले इजरायल र हेजबुल्लाहबीच भइरहेको युद्धबाट पर्न सक्ने जोखिमबारे आफूहरू सचेत रहेको बताए।

‘इजरायलले आक्रमण गरेको क्षेत्र हामी बसेको ठाउँबाट पुग्न दुई घण्टा लाग्छ। त्यो ठाउँमा मुस्लिम समुदायको बाहुल्य छ। यहाँ नेपाली रहेको सूचना हामीसँग छैन,’ उनले भने, ‘हामी बेरुतमा सामान्य जीवन बिताइरहेका छौँ। नियमित काम गरिरहेका छौं।’

उनले नेपालीहरूबीच एकआपसमा समन्वय बढिरहेको बताए। थापा बेरुतको मुख्य शहरबाट १० किलोमिटर टाढा बस्छन्। ‘यहाँ बम पड्केको आवाज सुनिँदैन। हामीले पनि मोबाइलमा भिडिओ हेरेर थाहा पाउने हो। बेला–बेला आकाशमा फाइटर विमानले धूवाँको मुस्लो फालेर जान्छ। त्यो आकाशमा नै पड्किन्छ। यसले हामीलाई सचेत भने बनाइरहेको छ,’ उनले भने, ‘कम्पनीले हामीलाई यो युद्धको वास्ता गर्नु पर्दैन। केही पनि हुँदैन। खानेकुरा भने ल्याएर राख्नु भनेको छ।’

बेरुतमै रहेकी चन्द्रा जोशीले युद्ध भइरहेको लेबनानको सुर, न्याकुरा, साइदा, जुनुव, हेर्मेल र तर्सिस भन्ने स्थानमा नेपाली नरहेको बताइन्। ‘हाम्रो रोजगारदाताले युद्धबारे हामीसँग खासै कुरा गर्दैन । लेबनानमा यस्तो हुन्छ। यता युद्ध हुँदैन। उता बोर्डरतिर मात्रै हुन्छ भन्छन्,’ उनले भनिन्, ‘युद्धसम्बन्धी समाचार आएको विषय हामीलाई भन्दैन। हामी पुग्दा न्युज च्यानल परिवर्तन गर्छन्। हामीलाई डराउनु पर्दैन भन्छन्। हामीले सोध्यो भने मात्रै युद्धका विषयमा जवाफ दिन्छन्।’

गत जुलाईमा इजरायलले बेरुतमा हमला गरेर हेजबुल्लाहका वरिष्ठ सैन्य कमान्डर फुआद शुक्रलाई मारिदिएपछि इजरायल–हेजबुल्लाहबीच तनाव बढिरहेको छ । सीमा वारपार लडाइँ भइरहेपछि दुवैतर्फ आफ्नो घरबाट विस्थापित हुनेको संख्या बढिरहेको छ।

इजरायलले उत्तरी क्षेत्रबाट विस्थापित भएका १० औं हजारलाई पुनःस्थापना गर्न लेबनानमा आक्रमण बढाउने नीति लिएको छ। लेबनानको दक्षिण भेगबाट लाखभन्दा बढी मानिस विस्थापित भई बेरुत आसपासका क्षेत्रमा आइरहेका छन्। उनीहरूलाई विद्यालयहरूमा राखिएको छ।

मंगलबार पनि इजरायलले बेरुतको दक्षिणी भेग घोबेरी क्षेत्रमा आक्रमण गर्दा ६ जना मारिएका छन्। यसअघि पनि इजरायलले राजधानी बेरुतमा हेजबुल्लाहका वरिष्ठ नेतृत्व लक्षित हमलाहरू गरेको थियो। इजरायल आक्रमणको गतिलाई अझ बढाउने पक्षमा देखिएको छ।

‘हेजबुल्लाहलाई छुट दिइनु हुँदैन,’ इजरायल रक्षा बलको जनरल स्टाफ चिफ हर्जी हेलेवीको भनाइ छ, ‘हामी आक्रामक अपरेसनलाई गति दिनेछौं। सबै संरचनाहरूलाई कडा पार्नेछौं।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०८:०४
Weather Update