काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले मङ्गलबारदेखि वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो वर्ष दसैँसम्म पानी पर्ने सम्भावना रहेको जानकारी दिइन्।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र आगामी केही दिन देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताइन्। मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको हुँदा वर्षाको सम्भावना अझै सक्रिय रहेको विभागको भनाई रहेको छ।
अघिल्लो वर्ष असोजको पहिलो सातामा मनसुन सकिने भए पनि यो वर्ष लम्बिएको मौसमविद् मानन्धरले बताइन्। भारतमा पनि यो वर्ष मनसुन लम्बिएको बताउँदै उसले पनि अहिलेसम्म मनसुन सकिएको घोषणा नगरेको उल्लेख गरिन्।
उनले भनिन्, ‘अघिल्लो वर्ष सेप्टेम्बर २३ मा मनसुन सकिने गरे पनि यो वर्ष अक्टोबरको पहिलो सातासम्म सक्रिय रहने अवस्था छ। पर्सिदेखि दसैँको सुरुवातसम्म वर्षा हुने प्रणाली सक्रिय देखिएको छ।’
हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भागमा मौसम आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
सोमबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने, थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ।
रातिको समयमा कोशी, मधेस, र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने जनाएको छ।
मङ्गलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने, अधिकांश भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।