काठमाडौं— ठूलो मात्रामा नियन्त्रित लागुऔषध तथा मनोद्विपक पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो।
अपरेशन अल्ट्राजस् नाम दिएर ब्युरोको टालीले चलाएको मनोद्विपक पदार्थको अनुसन्धानको क्रममा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–५ घर भएका ३० वर्षीय श्रीबहादुर राई, सर्लाहीको हरिपुर नगरपालिका–१ का २२ वर्षीय विपिनकुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–१ कि ३२ वर्षीया सम्झना रोक्का, पर्वतको महाशिला गाउँपालिका–५ का २७ वर्षीय बालकृष्ण अधिकारी, बाराको परवानीपुर गाउँपालिका–३ का ३४ वर्षीय प्रदीप सर्राफ र काठमाडौं महानगरपालिका–१५ डल्लुका ५१ वर्षीय मोहन श्रेष्ठ छन्।
उनीहरुबाट १ लाख ८० हजार ४३० क्याप्सुल ट्रामाडोल बरामद गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए। चार वर्षदेखि उनीहरूले लागुऔषध बेच्दै आएको प्रहरीको भनाइ छ।
जेठ ७ मा राजपत्रमा सूचना निकाल्दै ट्रामाडोल र टपेन्डोललाई मनोद्विपक पदार्थको रुपमा तोक्दै बिना अनुमति बेचबिखनमा रोक लगाइएको थियो। पक्राउ परेकाहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।