खेलाउने क्रममा सर्पले डसेर एक जनाको मृत्यु

हेटौंडा— हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार हेटौंडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कंडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार कंडेलले घर नजिकै रहेको जङ्गलबाट आफैंले सर्प ल्याएका थिए ।
उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औंलामा डस्दा गम्भीर बिरामी भई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक कार्कीले जानकारी दिए ।
कंडेलले कहिलेदेखि सर्प घरमा ल्याएका थिए र उक्त सर्प कुन जातको थियो भन्नेबारे खुल्न सकेको छैन ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० २१:२७