
झापा— झापाको शिवसताक्षीमा एकल महिलाको हत्या आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका–६ स्थित डाँडागाँउ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या आरोपमा सोही ठाउँका ६२ वर्षीय रतिलाल राजवंशी, उनकी २० वर्षीया छोरी फूलमाया र १८ वर्षीय छोरा रामकृष्ण राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
१२ वैशाखकाे राति करिब ९ बजे एकल महिला शान्तिमायाको हत्या गरिएको थियो । प्रहरीले उनको शव १४ वैशाखमा बेलुका घर नजिक फिलुंगेको नलले छोपिएको अवस्थामा फेला पारेकाे थियाे ।
घरमा एकलै बस्दै आएकी उनी र रतिलालबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए ।
घटना भएको दिन रतिलाल दूध लिन महिलाको घर गएको र उनी दूध बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।घटनाको थप विवरण प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।