News Griha :: न्यूजगृह
पारिश्रमिक विवादः अपर त्रिशूली जलविद्युत् आयोजनामा मजदुरद्वारा तोडफोड

नुवाकोट— ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर मजदुरहरू तोडफोडमा उत्रिएपछि रसुवाको मैलुङमा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा रसुवाको उत्तरगया र आमाछोदिङ गाउँपालिका–१ स्थित मैलुङमा निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर शनिबार कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण कार्य रोकिएको हो।

आयोजनाको मुख्य प्रवर्द्धक कोरियन कम्पनी कोरिया इनर्जीको ९० प्रतिशत लगानीमा निर्माण भइरहेको आयोजनाको ठेकेदार तथा सब कन्ट्याक्टर कम्पनी पावर चाइनाले पारिश्रमिक र सेवासुविधा अनपेक्षित रूपमा घटाएको भन्दै मजदुरहरू तोडफोडमा उत्रिएका हुन्।

आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइना कम्पनीले तलब १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्टि देखिएको निर्माणमा संलग्न मजदुर रामेछापका दिनेश श्रेष्ठले बताए।

मजदुर र पावर चाइनाका कर्मचारीबीच विवाद बढेपछि मजदुरहरू तोडफोडमा उत्रिएका थिए। जसमा ४ जना सशस्त्र प्रहरीसमेत घाइते भएका छन्। झडपका क्रममा नेपाल वाटर एण्ड इनर्जी, मुख्य कोरियन निर्माण कम्पनी डुसान र पावर चाइनाको कार्यालय र आवाससहित केही गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ। कोरियन इनर्जीका एक अधिकारीले पावर चाइनाले बिदाको पैसा भुक्तानी नगरेको कारण देखाउँदै मजदुरहरू आक्रमणमा उत्रिएको बताए।

तोडफोडपछि निर्माण कार्य बन्द भएसँगै मजदुरहरू अहिले निर्माणस्थल छाडेर घर फर्किएका छन्। ६ सय ४० मिलियन डलर लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको आयोजना सन् २०२६ डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०२२ बाट काम थालिएको थियो । कोरियन सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी), एसियाली विकास बैंक (एडीबी) र एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी) सहित ९ वटा अन्तर्राष्ट्रिय दातृ संस्थाको लगानीमा आयोजना निर्माण गरिरहेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:११
Weather Update