News Griha :: न्यूजगृह
भोटेकोशीमा खसेको गाडीमा सवार महिलाको शव भेटियो, चालक अझै बेपत्ता

काठमाडौं— सिन्धुपाल्चोकस्थित भोटेकोशीमा जीप खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ।

शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर सुमेश पाण्डेले जानकारी दिए।

शव भेटिएको स्थान दुर्घटनास्थलबाट अन्दाजी १५ किलोमिटरभन्दा तल रहेको इन्स्पेक्टर पाण्डेले बताए। स्थानीयले शव देखिएको खबर गरेपछि पुगेको प्रहरीले उक्त शव शुक्रबार भोटेकोशीमा खसेको गाडीमा सवार बाह्रबिसे नगरपालिका–९ बस्ने ३६ वर्षीया सुन्तली  भनिने सुनिता तामाङ नै रहेको खुलेको थियो।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाह्रबिसे लगिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए। गाडीका चालक भने अझै बेपत्ता छन्।

उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली भोलि पुग्ने र खोजी सुरु गरिने बताइएको छ। पानी परेकाले पनि खोजीमा कठिन भएको इन्स्पेक्टर पाण्डेले  जानकारी दिए।

शुक्रबार दिउँसो बा २० च २१८५ नम्बरको बोलेरो गाडी बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको थियो।

उक्त गाडी शुक्रबार साँझ पौने ७ बजे नदीबाट क्रेनको सहायताले निकालिएको थियो। जीपमा दुई जना मात्रै थिए।  चालक भोटेकोशी गाउँपालिका–५ का ३८ वर्षीय सानु शेर्पा भेटिन बाँकी छन्।

शुक्रबार दिउँसो स्थानीयले नदीमा गाडीको टायर देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २०:०७
Weather Update