काठमाडौं— अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
अनि कोशी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
यस्तै धेरै, थोरै तथा एकदुई स्थान भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यहीँ यहीँ ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।