News Griha :: न्यूजगृह
यी स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पानी पर्‍यो?

काठमाडौं— मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको पनि प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले बताएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एकदुई स्थानहरूमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको भोताङमा ९२.८ मिलिमिटर वर्षा भएको छ। तार्केघ्याङमा ७४.८, मानेखर्कमा ६८.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै पर्साको वीरगञ्जमा ६९.६, बाँकेको सिक्टामा १०२.६, दाङको कोइलाबासमा ८५.४, दाङकै लालमटियामा ७६.२, लमहीमा ७७.४, घोराहीमा ६०.६ मिलिमिटर वर्षात भएको छ। 

कञ्चनपुरको हनुमान नगरमा ८५, सुन्दरपुरमा ७२.२, कैलालीको बलियामा ७८, बचिलामा ६३.२ मिलिमिटर पानी परेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०६:५१
Weather Update