काठमाडौं— दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन्। बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ।
एअरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका हुन्।
वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ। सङ्घका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए।
उनले भने, 'दसैँमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किन यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन्। सुगमतर्फका गन्तव्यमा उडान चाप सामान्य रहे पनि आन्तरिक उडानको महत्वपूर्ण रुट मानिने तुम्लिङटार र सुर्खेतलगायतका गन्तव्यमा हवाई टिकट लिने यात्रुको सङ्ख्या बढिरहेको सुन्नमा आएको छ।'
अहिले मौज्दात जहाजको र उडान सङ्ख्याका आधारमा दसैँ लक्षित कुनै पनि गन्तव्यमा थप उडान गर्नेबारे हवाई कम्पनीबीच छलफल नभएको उहाँले जानकारी दिनुभयो। बुद्ध एअरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए।
श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दसैँलक्षित बुकिङसमेत सुरु भएको जानकारी दिए।
यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ।
दसैँको १५ दिनअगावै लामो दूरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ। यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए। यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन्। बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन्।
यातायात व्यवस्था विभागले पनि व्यवसायीसँग छलफल गरी असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको जनाएको छ।