विराटनगर— पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनशन सुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समुह आमनेसामने भएका छन् ।
कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरू कार्यान्वयन नगरेको भन्दै अनशन बस्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा जारी गरेपनि अपरान्ह ४ बजेदेखि अनशन थालेका कार्कीलाई राति प्रहरीले उनलाई सो स्थलबाट उठाएर उनको घरमा लगेर छोडेको थियो । सो समयमा अनशन स्थल विराटनगरस्थित देवकोटा चोक तनावग्रस्त भएको थियो ।
कार्कीलाई नियन्त्रणमा लिनेक्रममा उनका समर्थक र सुरक्षाकर्मीबीच केहीबेर झडप समेत भएको थियो । प्रहरीले घरमा छोडेपछि कार्की अर्को गाडीमा देवकोटा चोकमा फर्केर फेरी अनशन सुरु गरेका थिए ।
कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जङ्गली जनावरको संरक्षणका लागि जनावरमैत्री जङ्गल अभियान, महिला स्वयंसेविका लाई प्रोत्साहन कार्यक्रम लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन सुरु गरेका हुन् ।