खोटाङ— प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ। शहरी विकास मन्त्रालयको आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो।
गत जेठ २९ गते सम्झौता गरिएको दुवै सडकको काम आगामी असार २९ गतेभित्र सम्पन्न गर्नेगरी सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ। एक वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको उक्त आयोजनाअन्तर्गत हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्धारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन्।
उनका अनुसार रक गार्डेन जाने करिब एक हजार दुई सय मिटर सडक ढलान पनि सोही बजेटबाट हुनेछ। आयोजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसरमा धार्मिक पर्यटनको आगमन वृद्धि हुनाका साथै स्थानीयको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको नगरप्रमुख राईले उल्लेख गरिन्। मन्दिर प्रवेशद्वारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुङ्गा बिच्छ्याइने सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियर गणेश पाण्डेले बताए।
प्रवेशद्वार नजिक निर्माण गरिने पार्किङस्थलमा तीन प्रकारका सवारिसाधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने छ। धार्मिक तथा प्राकृतिक रुपमा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएका हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको इन्जिनियर पाण्डेले जानकारी दिए।
कोशी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ४४ लाख ८४ हजार चार सय ९० को लागतमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको हो। हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण भइरहेको छ। विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा यहाँ रहेकाले यस क्षेत्रको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिर व्यवस्थापन समिति सक्रिय रुपमा लागिपरेको नगरप्रमुख राईले बताइन्। यहाँ आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ।