धनुषा— धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ लक्ष्मीनियाँमा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।
मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए।
उनका अनुसार उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए। बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो। डुब्ने बालकहरू महावीर साहका तीन छोरीका जेठा छोराहरू रहेको प्रहरी निरीक्षक साहले बताए।
घटना साढे ७ बजेतिर साँझको हो। तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
सबै भोजमा व्यस्त रहेका बेला उनीहरु पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने वडाध्यक्ष गङ्गा साहले जानकारी दिए। घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।