News Griha :: न्यूजगृह
झाडापखालाबाट बाँकेमा चारजनाको मृत्यु
नरैनापुरका झाडापखालाका बिरामी एक बालक । तस्बिर : सिराज खान

बाँके— बाँकेको नरैनापुरमा झाडापखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ। नरैनापुर –३ गेगली गाउँमा एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन् भने चारजनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले जानकारी दिए।

उनले हरिराम पासीको श्रीमती २५ वर्षकि रुसा र उनकी छोरी डेढ वर्षकी नन्दनी, मोहनलाल पासीको श्रीमती ६० वर्षकी शान्ति र सखावत अलिको छोरा १० वर्षको युसुफको मृत्यु झाडापाखा कै कारण भएको बताए।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले भारतीय  सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको बताए। 

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले झाडा पखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएको बताए।

झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको अध्यक्ष साहले जानकारी दिए।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ  छ। फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ।

यसैगरी, भेरी अस्पतालमा पनि नेपालगञ्जका ३ जना झाडापखालाका बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा प्रकाश थापाले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०६:३१
Weather Update