News Griha :: न्यूजगृह
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला, आमा बेपत्ता

विराटनगर— मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन्। उनीहरूलाई विष सेवन गराएर मारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ।

सुन्दरहरैंचा ७ गोठगाउँमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्कीको शव फेला परेको हो।

मृतक नाबालिकाहरू धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन्।

दुई बालिकाको शव भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए।

कार्कीका अनुसार अर्जुन र अस्मिताबीच हिजो साँझ ६ बजेतिर झगडा भएको थियो। सवारी चालक रहेका अर्जुन बिहानै आफ्नो काममा लागे। श्रीमती अस्मिता पनि बिहानको मिर्मिरेमै दुई बालबच्चा च्यापेर पूर्वाञ्चल विश्वविद्यालयतिर लागेको स्थानीय जानकारी दिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए।

तर, दिउँसो साढे ४ बजेतिर दुई नाबालिकाको शव भेटिएको थियो। उनीहरूको शव भेटिए पनि आमा अस्मिता भने अझै भेटिएकी छैनन्। आफ्ना दुवै छोरीलाई विष खुवाएर फरार भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २१:४४
Weather Update