News Griha :: न्यूजगृह
मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द

काठमाडौं— मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ।

मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरूलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। एक जना अझै बेपत्ता छन्। 

शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन। आज ठूला मेसिन उपकरणहरू प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ।

यसैबीच सडक बन्द भएको यही मौकामा मुग्लिन–आँबुखैरेनी सडकखण्डमा पर्ने भित्तोका जोखिमपूर्ण चट्टानहरू काटेर फ्याँक्ने काम पनि हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।  हाल मुग्लिन–आँबुखैरेनी सडकखण्ड बिस्तार र पहिरो नियन्त्रणको काम भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:३७
Weather Update