News Griha :: न्यूजगृह
कैलालीमा सर्पले टोक्दा दुई जनाको मृत्यु, ४ घाइते

धनगढी— कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ।

शनिबार दिउँसो गौरीगङ्गा नगरपालिका–७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरी ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए।

आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरूलाई सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ।

शनिबार सर्पकै टोकाइबाट कैलालीमा अरु तीन जना पनि घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१ बस्ने १३ वर्षीय उपेन्द्र केसी, गौरीगङ्गा नगरपालिका–५ का १४ वर्षीय हेम बोहरा र जोशीपुर गाउँपालिका–३ कि ३४ वर्षीया उर्मिला कठरिया घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरूमध्ये केसी र बोहराको सेती प्रादेशिक अस्पतालमा र कठरीयाको मसुरियास्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको एसपी विष्टले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:५८
Weather Update