News Griha :: न्यूजगृह
आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौं आइपुगिन

काठमाडौं— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन्।

शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन्।  उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव लगायतका उच्चअधिकारीले स्वागत गरेका थिए। उनी घाइते भेट्न त्रिवि शिक्षण अस्पताल जाँदैछिन्।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। आज बिहानैदेखि भरतपुर अस्पतालमा मृतकको शवको परीक्षण जारी रहेको छ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ११:२५
Weather Update