News Griha :: न्यूजगृह
बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न भारतबाट केन्द्रीय मन्त्री काठमाडौं आउँदै

काठमाडौं— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आउने भएकी छिन। उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने जानकारी गराइएको छ।

घाइते १६ भारतीय यात्रीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार हुँदैछ। घाइते यात्रुको उपचारको लागि टिचिङ अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ।

दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०९:५३
Weather Update