सर्लाही र उदयपुरमा भारी वर्षा
काठमाडौं— सर्लाही, उदयपुरलगायत क्षेत्रमा भारी वर्षा भएको छ।
सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उदयपुरको सुन्दरपुर वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ। उक्त क्षेत्र भएर बहने त्रियुगा खोलालगायत अन्य ससाना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको छ।
तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ छ। जसका कारण वर्षा भइरहेको हो।
देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ ०६:३७