अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं— अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीय सयना श्रेष्ठ रहेकी छन् ।
सयनासमेतले वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा तीन लाखभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३० लाख लिई ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १३:५९