जुम्ला— अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।
सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ। छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।
यी जोखिम ठाउँहरूमा सडकको स्तरोन्नति सम्बन्धी निकायको ध्यान जान नसक्दा वर्षायामदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन्।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारिसाधन बीच बाटोमा रोकिँदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन्।