News Griha :: न्यूजगृह
बारा, पर्सा र कञ्चनपुरमा भारी वर्षा

काठमाडौं— मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ। यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ।

मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ। आज बिहान यो समाचार तयार पार्दासम्मको अवस्था हेर्दा सबैभन्दा धेरै वर्षा मधेस प्रदेशको पर्सा जिल्लामा भएको छ। पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

यसैगरी बाराको सिमरा एअरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान पाँच बजे एक सूचना जारी गर्दै पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, पर्वानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको जनाएको छ।

वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ। त्यसैले ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा आज बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

६ घण्टाको अवधिमा कैलालीको धनगढी एअरपोर्टमा पनि राम्रै वर्षा भएको देखिन्छ। त्यहाँ ९७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ। तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ। दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ। मंगलबार राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो।

राति कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०७:१०
Weather Update