गुल्मीमा लेदोसहितको बाढीमा फस्यो बस
गुल्मी— गुल्मी जिल्लामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्याएको छ।
रुरुक्षेत्र गाउँपालिका–१,रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
राजमार्गको तम्घास–बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ। यात्रु सबैजना बसबाट सकुशल बाहिर निस्किएका छन्।
राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ।
सडक बिस्तारले अहिले वर्षको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ।
बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १६:५०