News Griha :: न्यूजगृह
सरकारी कागज कीर्तेमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान

विराटनगर— नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन् ।

सरकारी कागज कीर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमर्पण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन । 

जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाले ३१ वैशाख २०७४ मा फैसला गर्दै सांसद खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविस सचिव विजय कामत र दिपचन्द्र मण्डललाई १ वर्ष जेल सजाय फैसला गरेका थिए ।

जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्न उच्च अदालत गए पनि विराटनगर उच्च अदालतले ९ पुस २०७४ मा जिल्लाको सोही फैसला सदर गरिदिएको थियो । सो अदालतले सरकारी कर्मचारी भएका कारण पूर्व गाविस सचिव कामत र मण्डललाई भने २ वर्षको सजाय तोकिदिएको छ ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पूर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन अदालतमा आएको र अदालतले आवश्यक प्रक्रिया पुरा गरी कैद भुक्तानका लागि कारागार पठाएको हो ।

तत्कालीन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र कीर्ते गरेको पछि खुल्न आएको  थियो । 

४ चैत २०७१ मा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र कीर्ते गराउन भूमिका खेलेको अदालतले ठहर गर्दै जेल सजाय तोकेको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०९:४१
Weather Update