ताप्लेजुङमा पहिरोले घर भत्कियो
ताप्लेजुङ— आइतबार रातिको वर्षाले मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघु तेल्लाबुङकी ६४ वर्षीय भोटेनी लिम्बूनीको घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार घरमा एक्लै बस्दै आएकी महिला भने भाग्न सफल भएकी छन्।
गाउँपालिका अध्यक्ष विजय पैकाश वनेमका अनुसार विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ढुङ्गेसाँघु सबस्टेसनबाट निकास भएको पानी पसेर घरमा क्षति पुर्याएको हो। यहाँको पानी पधेरे खोल्सा हुँदै गएको र घरतिर पसेको वनेमले बताएका छन्।
वर्षाले यो क्षेत्रको मोटरबाटोमा समेत अवरोध पुर्याएको छ। पञ्चमी डाँडा क्षेत्रको सडक जोखिमपूर्ण रहेकाले यात्रुहरूलाई पिपल चोक तेम्वे लेकुवाको बाटो प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ।
विस्थापित महिलालाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ ०८:१४