काठमाडौं— २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ। ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो।
दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदै छ। त्यसअघि बिहान सात बजे काठमाडौंको भृकुटीमण्डपबाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अगुवाइमा प्रभातफेरी आयोजना हुँदै छ।
त्यसपछि बिहान नौ बजेपछि होटल याक एण्ड यतीमा राष्ट्रपतिले मूल समारोह उद्घाटन गर्ने छन्। उद्घाटन समारोहपछि युवाका सरोकारका विषयमा युथ समिट (युवा सम्मेलन) हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो। सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो।
सन् १९९९ को डिसेम्बर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो।
नेपालमा दिवस मनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको थियो।