बागलुङ — पहिरोमा पुरिएर बागलुङको बडिगाडमा ८ जनाको मृत्यु भएको छ भने चार बालक बेपत्ता छन्।
मंगलबार बिहान पहिरोले घर पुरिँदा बडिगाड गाउँपालिका–१० मा ६ जना र बडिगाड गाउँपालिका–९ मा २ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।
पहिरोमा परी मृत्यु हुनेमा बडिगाड गाउँपालिका–१० का ७ वर्षीया मालती बुढा, १३ वर्षका मनोज बुढा, अमन बुढा, मैतीदेवी विक र एक ६ वर्षीया बालिका छन्।
एक जना घाइतेको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बागलुङमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रखर बरालले जानकारी दिए। उनका अनुसार चार जना बालक बेपत्ता छन्।
बेपत्ता हुनेमा ७ वर्षीय मधु बुढा, १० वर्षीय मनोज बुढा, ३ वर्षीय अमन थापा र १४ वर्षका सुजन विक छन्। उनीहरूको खोजी भइरहेको छ।
त्यसैगरी बडिगाड गाउँपालिका–९ मा पहिरोमा परी १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको सहायक प्रजिअ बरालले बताए।
पहिरोमा पुरिएका घरबाट चार जनाको जीवितै उद्धार गरिएको छ। घाइतेमध्ये गम्भीर रहेका चार जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ।