News Griha :: न्यूजगृह
पटकपटक विद्युत अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गमा चक्काजाम 

महोत्तरी— महोत्तरीमा विद्युत प्राधिकरणले पटकपटक लाइन काटेपछि व्यवसायी र सर्वसाधारण आन्दोलित भएका छन्। पटकपटक लाइन काट्ने र लाइन दिएपनि कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरूले पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन्।

स्थानीयकोसमेत सहभागितामा भएको चक्काजाममा विद्युत प्राधिकरणले नियतवश लाइन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरूले बताएका छन्। व्यापारीहरूले शनिबार यो विषयमा उद्योग वाणिज्य सङ्घ बर्दिबाससँग पनि छलफल गर्ने भएका छन्।  

छलफलपछि उपयुक्त निष्कर्ष ननिस्किए समस्या समाधान नभएसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले बताए।

व्यापारीहरूको मागमा ऐक्यबद्धता जनाएको बताउँदै उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खड्काले यसको समाधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

विद्युत प्राधिकरण औरही प्रसारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत अवरुद्ध भएको बताए। ‘नियतवश हामिले लाइन काटेका हैनौँ। ढल्केबर प्रसारण लाइनबाट पूर्णरुपमा विस्थापन गरेर औरही प्रसारणको लागि काम गरिरहेका छौ,’ प्रमुख झाले भने ‘हामी सर्वसाधारण र व्यापारीहरूको गुनासोमा गम्भिर छौँ।’

विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रष्ट पारे।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०६:५५
Weather Update